रुस र क्रिमिया जोड्ने विवादस्पद पुलमा पुटिनले ट्रक चलाए

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस र क्रिमिया जोड्ने एउटा विवादस्पद पुल मंगलबार उद्घाटन गरेका छन् । पुटिनले सुन्तला रंगको कमाज ट्रक कुदाउदै पुलको उद्घाटन गरेका हुन् । १९ किलोमिटर लामो उक्त पुल रसिया र युरोपको सबैभन्दा लामो पुल हो ।

 

करिब ३ अर्ब ६० करोड डलर खर्च गरेर बनाइएको यो पुल सञ्चालनमा आएसँगै रसिया र क्रिमियाको स्थलमार्ग जोडिएको छ। सन् २०१४ मा युक्रेनबाट अलग्गिएर क्रिमिया रसियासँग गाभिएको थियो।
 
रसियासँग गभिएपछि युक्रेनले क्रिमियामाथि नाकाबन्दी लगाएको थियो। क्रिमियामा खाद्यन्न तथा अन्य महत्वपूर्ण सामग्रीहरु पठाउन रुसले जलमार्गको प्रयोग गर्दै आएको थियो। पुल सञ्चालनमा आएसँगै जलमार्गको प्रयोग घट्ने बताइएको छ।
 
यो वर्षको डिसेम्बरमा पुल निर्माण कार्य सम्पन्न हुने बताइएपनि निर्धारित समयभन्दा ६ महिनाअघि पुल निर्माण भएको क्रिमियाले जनाएको छ।
 
यसैबीच, पुल निर्माणको विषयलाई लिएर युक्रेनले विरोध जनाएको छ। पुल निर्माण कार्यले वातावरणलाई असर पुर्‍याएको जनाउदै युक्रेनले एजोभ समुद्र हुँदै आफ्नो बन्दरगाहमा ठूला जहाजहरु आउन नसक्ने बताएको छ।
source:kantipur